होसीयार ! सेतो पुतलीको विगविगी, ल्यायो यस्तो रोग | एकै छिनमा आंखाको ज्योति गुम्छ | (भिडियो हेर्नुहोस्)

४४ वर्षअघिको कुरा। जतिबेला डा. मदनप्रसाद उपाध्याय भर्खर बेलायतबाट पढेर फर्किएका थिए। वीर अस्पतालमा नयाँखाले बिरामीसँग जम्काभेट गर्नुपर्‍यो। पहिला कहिल्यै नदेखेको र उपचार नगरेको समस्या भएका केटाकेटी लिएर केही अभिभावक आए। ‘आँखा राताराता थिए, नानी सेतो थियो’, उनी सम्झन्छन्।

सामान्यतया केटाकेटीको आँखा त्यसरी रातो हुँदैनथ्यो। न त नानी नै सेतो हुन्थ्यो। उनले पढेको चिकित्सा विज्ञानमा उल्लेख भएअनुसार नानी कालै हुनुपर्ने। अलि पाका व्यक्तिलाई आँखामा क्यान्सर हुँदा रातो हुने उपाध्यायलाई थाहा थियो। अपवादजस्तै गरी आँखाको नानी सेतो हुने कुरा थाहा थियो।

कहिल्यै नदेखेको आँखाको रोग भएका केटाकेटी आएपछि डा. उपाध्यायले तत्काल अग्रजलाई गुहारे। अग्रजले भने सामान्य रूपमा लिँदै भनिदिए, ‘बच्चाहरूको आँखामा हुने क्यान्सर हो।’ उनलाई चित्त बुझेको थिएन। तर, जवाफ फर्काउने कुरा भएन। अग्रजहरूबाटै उपचार गराएर ती बिरामी केटाकेटी फर्किए। त्यो जमानामा औषधिमूलो त्यति थिएन।

ती केटाकेटीको आँखा सुक्दै गयो। उनका अनुसार सामान्यतयाः आँखाको रोगमा चिप्रा लाग्छ। आँखा पाक्दा प्रायः त्यस्तो हुन्छ। वीर अस्पताल आइपुगेका ती केटाकेटीको आँखा पाकेजसरी रातो त थियो, चिप्रा भने थिएन। यसले पनि उपाध्याय नयाँ कुनै रोग होला भन्ने शंकामा पुगे। निष्कर्ष भने निकाल्न सकेनन्। त्यसको २ वर्षपछि फेरि उही

पुरानै खाले रोग लिएर आए केटाकेटी। उनीहरूको पनि आँखा बिसेक भएन। सुक्दै गयो। ०३६ सालमा पोखरा आएका थिए डा. मदनप्रसाद उपाध्याय। आँखाका डाक्टरबीच छलफल चल्दा उनले काठमाडौंमा भेटेका जस्तै बिरामी यहाँका डाक्टरले पनि फेला पारेको जानकारी पाए। त्यतिबेलाको गण्डकी अञ्चल अस्पतालका नेत्र विशेषज्ञ ओमकृष्ण

मल्लका कुरा सुन्दा उपाध्यायले क्लु फेला पारे। मल्लकहाँ आएका बिरामीका अभिभावकले सेतो पुतलीको कुरा गरेका रहेछन्। अनि शंका लाग्यो-कतै त्यही पुतलीका कारण नयाँ रोग लागेको त हैन ? सहकर्मी डा. नवीनचन्द्र राईसँग मिलेर उपाध्यायले आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौंमा एउटा प्रयोगशाला खोले। त्यो सरकारी र अस्पतालको सहयोगबिनै

उनीहरू दुवैको निजी प्रयासमा खुलेको प्रयोगशाला थियो। प्रयोगशालामा पुतली लगे अनि पुतलीको संसर्ग हुने गरी मुसा र खरायो पनि राखे। उनीहरूले लख काटेजस्तो नतिजा निस्केन। न मुसाको आँखामा केही भयो न खरायोका। ठाने-पुलती छान्दा कमजोरी भयो। फेरि सोचे-यी जनावरमा मान्छेमा भन्दा भिन्नै प्रतिरोधात्मक शक्ति रहेछ।

आँखामा त्यस्तो रोग लिएर आउने बिरामी प्रत्येक २÷२ वर्षमा भेटिहालिन्थे। तर, यस्तो रोगबारे न उपाध्यायले बेलायतमै पढे। न अरू देशमा यस्तो रोग भएको सुने। केही जानकारी भएन। आजसम्म पनि नेपालबाहिर यस्तो रोग लागेको भन्ने उनलाई थाहा छैन। जति छ नेपालमा छ र त्यसमा पनि गण्डकी प्रदेशमा। भन्छन्, ‘यो रोगको इपिसेन्टर

गण्डकी प्रदेश हो।’ सुरुमा २०३२ सालमा यो रोगको बिरामी पोखरामा भेटिएको उनी बताउँछन्। त्रिविअन्तर्गत टिचिङ अस्पताल, महाराजगन्जका पूर्वप्राध्यापक उपाध्यायलाई रोगको निदान र कारण पत्ता लगाउने हुटहुटी चलिरह्यो। सन् १९९१ मा टिचिङ अस्पतालमा आँखाको पिप निकाल्ने मेसिन आयो। बिरामीको पिप निकाल्दा रोग निको भयो।

रोगको कारण पत्ता लगाउन उपाध्याय र राईले गाउँ चहारे। बिरामीका परिवार भेटे। छिमेकी भेटे। वातावरण अवलोकन गरे। जसको आँखामा त्यस्तो भएको थियो, उनीहरू सेतो पुतलीको संसर्गमा रहेको भेउ पाए। डा. उपाध्याय भन्छन्, ‘सुरुमा यो रोगलाई आँखा पाक्ने रोग ठानिएको हो तर पछि अर्कै हो भन्ने पत्ता लाग्यो।’ अनुसन्धानपछि उनैले यो

रोगको न्वारानसमेत गरे- सिजनल हाइपरसुन पन्युवाइटिस (एसएचएपीयू अर्थात् सापु)। हो, यही सापु रोगका बिरामी यो वर्ष फेरि पोखरामा देखिएका छन्। भदौ लागेपछि भेटिएका बिरामीको संख्या १४ पुगेको हिमालय आँखा अस्पताल पोखराका प्रमुख डा. इन्द्रमान महर्जन बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *